क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश

क्यामरुन र बुर्किना फासो गाबोनमा जारी अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको क्वाटरफाइनलमा टाइब्रेकरमा सेनेगललाई ५–४ ले हराउँदै क्यामरुनले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । चार पटकको विजेता क्यामरुनका लागि विन्सेन्ट एबोउबाकारले विजयी पेनाल्टी प्रहार गरे । सन् २००२ को फाइनलमा क्यामरुनले सेनेगललाई नै टाइब्रेकरमा हराएको थियो । यस्तै राति नै भएको अर्को खेलमा ट्युनिसियालाई २–० ले हराएर बुर्किना फासोले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा अन्तिम १० मिनेटमा बुर्किना फासोले दुई गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । बुर्किना फासोका लागि आरस्टिड बान्स र प्रेजुस नाकोलमाले गोल गरे । 

सुचना तथा मनोरञ्जनको सम्वाहक