पाँच अर्ब लगानी गर्दा वार्षिक सवा अर्बको पुष्प निर्यात हुने

नेपालको पुष्प निर्यात गर्न कम्तिमा सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गर्नुपर्ने पुष्प बिज्ञहरुले सुझाव दिएका छन् । पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका बिज्ञ तथा व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् । व्यवसायी तथा बिज्ञहरुले नेपालको आन्तरिक बजारको माग धानेर भारतसहित तेश्रो मुलुकमा पुष्प निर्यात गर्न ग्रिन हाउसलाई सुझावको रुपमा अघि सारेका छन् ।

खुला स्थानमा पुष्प उत्पादन गर्दा विभिन्न प्रकारका हानिकारक किराले पुष्पको भित्री भागमा फूल पार्ने र यो फूल विस्तारै किरामा परिणत भएर अन्तर्रा्ष्ट्रिय बजारमा पुष्पको निर्यातमा अवरोध सिर्जना गर्दैआएको छ । ग्रिन हाउसमा पुष्पको खेती गर्दा यस्ता किराबाट जोगिने र उत्पादनमा पनि झण्डै करिब १० गुणा बढी बृद्धि हुने भएकाले बिज्ञहरुले ग्रिन हाउसको आवश्यकता औल्याएका हुन् । फ्यानका पूर्व अध्यक्ष लोकनाथ गैरेका अनुसार आधुनिक प्रविधिअनुसार ग्रिन हाउसमा पुष्पको खेती गर्दा आन्तरिक बजारको माग पनि धानिने र निर्यात पनि गर्न सकिने सुझाव दिए ।


उनकाअनुसार नेपालमा एक सय ४१ हेक्टरमा पुष्पको खेती हुँदै आएको छ । त्यसमध्ये ३० हेक्टरमा हाल ग्रिन हाउस निर्माण गरी व्यवसायिक रुपमा पुष्पको खेती हुँदै आएको छ । थप सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गरी आधुनिक प्रविधिको सहयोगमा पुष्प खेती सकिए निर्यात गर्न सहज हुने पूर्व अध्यक्ष गैरेले जानकारी दिए । ‘ग्रिन हाउसमा पुष्प खेती गर्दा ग्रिन हाउसमा विभिन्न प्रकारका किरा प्रवेश गर्ने खतरा पनि हुन्न्,’ उनले भने,‘ग्रिन हाउसमा किरा प्रवेश नगर्दा अन्तर्रा्ष्ट्रिय बजारको मागअनुसार गुणस्तरयुक्त पर्याप्त परिमाणमा पुष्पको उत्पादन हुन्छ । जसले गर्दा आन्तरिक बजारको माग सम्बोधन गर्न निर्यात गर्न पनि सहज हुन्छ ।’

फ्यानका वर्तमान अध्यक्ष कुमारकसजु श्रेष्ठले सय हेक्टरमा ग्रिन हाउस निर्माण गर्न कम्तिमा पाँच अर्ब रुपैयाँ लाग्ने जानकारी दिए । प्रति स्क्वायर मिटर ग्रिन हाउसलाई पाँच हजार रुपैयाँ लाग्छ । एक हेक्टरमा १० हजार स्क्वायर मिटर हुन्छ । श्रेष्ठले ग्रिन हाउससँगै कोल्ड रुम, चिल्लर, रेफ्रिजरेटेड भ्यान, आधुनिक ड्रिप सिंचाई, फयुमिगेसन सेन्टरलगायतको सुविधा भयो भने अहिले आयात हुदैँ आएको भारतीय पुष्पको बजार हिस्सालाई विस्थापन गर्न सकिन्छ ।

‘ग्रिन हाउस र आधुनिक प्रविधिसहितको भौतिक पूर्वाधारमा लगानी लगाउन सकियो भने नेपाल पुष्प खेतीमा आत्मनिर्भर हुन सक्छ,’ श्रेष्ठले भने,‘अहिले कूल मागको करिब २० प्रतिशतमात्रै अन्य मुलुकबाट पुष्पको आयात हुन्छ । थप पाँच अर्ब लगानी हुन सक्यो भने वार्षिक रुपमा सबा अर्ब मूल्य बरावरको पुष्प निर्यात गर्न नेपाल सक्षम हुनेछ ।’ पुष्प क्षेत्रमा नीजि क्षेत्रको पाँच अर्बको लगानी छ । हाल वार्षिक रुपमा भारतबाट १० करोड मूल्यबराबरको पुष्प आयात हुँदै आएको छ । यस्तै नेपालमा उत्पादन हुने पुष्पमध्ये ताजा पुष्प र बल्वभन्ने जातको पुष्प गरी करिब तीन करोड ५० लाख मूल्यबराबरको निर्यात हुँदै आएको छ । नेपालमा ३९ जिल्लामा ६ सय ७५ पुष्प फर्म तथा नर्सरीमा पुष्प खेती हुन्छ । बार्षिक रुपमा आन्तरिक र बाह्य बजार गरी करिब डेड अर्ब मूल्यबराबरको कारोबार हुँदै आएको छ ।


आर्थिक बर्ष २०७१।७२ देखि कृषि विकास मन्त्रालयले कार्यान्वयनमा ल्याएको पुष्प प्रवद्र्धन नीतिपछि सरकारले पनि पुष्प क्षेत्रमा लगानी लगाउन सुरु गरेको छ । सरकारले उपलब्ध गराउने लगानीको ८० प्रतिशत रकम ग्रिन हाउस र आधुनिक भौतिक पूर्वाधारमा खर्च भइरहेको छ । चालु आर्थिक बर्ष २०७३।७४ मा कृषि विकास मन्त्रालयले फ्यानलाई चार करोड ७४ लाख रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रालयका उपसचिब शंकर सापकोटाले १० बर्षअघि करिब ९० प्रतिशत आयातित पुष्पमा निर्भर रहेको नेपाल विस्तारै आत्मनिर्भरतर्फ उन्मुख भएको जानकारी दिए । पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफलेले पुष्प क्षेत्रको विकास र प्रवद्र्धन गर्न केन्द्र स्थापना भएपनि मन्त्रालयको असहयोगका कारण कुनै योजना अघि बढाउन नसकेको गुनसो पोखे ।

राष्ट्रिय तथ्यांक विभागकाअनुसार २०६० देखि २०७० को अवधीमा सबैभन्दा बढी पुष्प खेतीको विकास भएको भेटिएको छ । यो अवधीमा दुई सय ९९ वटा फार्म स्थापना भएर व्यवसायिक रुपमा उत्पादन गर्दैआएको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक