बिरामी भेट्न जानुअघि जान्नैपर्ने कुराहरु

अस्पतालमा भर्ना भएका बिरामी वा आफन्तलाई भेट्न जानु राम्रो कुरा हो । तर, उपचारार्थ बिरामीलाई भेट्दा भने विशेष सावधानी अपनाउनुपर्छ । बिरामी परीक्षणका लागि चिकित्सकको आफ्नै समय हुन्छ । अधिकांश ठूला अस्पतालको आआफ्नै नियम हुन्छन्, जसको पालना सबै ‘भिजिटर’ले गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण विषय त तपाईंले बिरामीलाई सम्मान गर्नुपर्छ ताकि तपार्इंको भिजिटले बिरामीलाई कुनै असुविधा वा दिक्क नलागोस् । अस्पतालमा बिरामी भेट्न जाँदा हेक्का पु¥याउनुपर्ने केही विषय यस्ता छन् ।

भेट्ने समय
साना वा ठूला प्रायः अस्पतालले बिरामी भेट्ने निश्चित समय तोकेका हुन्छन् ।  सो समयलाई जहिले पनि सम्मान गर्नुहोस् । ‘भिजिटिङ आवर’ सकिनुभन्दा १० मिनेट अगाडि अस्पताल पुग्नुभयो भन्दैमा तपार्इं लामो समय अस्पतालभित्र बस्न पाउनु हुन्न । बिरामीको सुविधाका लागि नियम बनाइएकाले यस्ता विषयमा अस्पतालका कर्मचारी र परिचारिकासँग अनावश्यक बहस नगर्नुहोस् । कतिपय अस्पतालमा संक्रमण सर्ने भएकाले बालबालिका लैजान प्रतिबन्ध हुन्छ । यस विषयमा पनि विशेष ख्याल गर्नुहोस् । कसैलाई भेट्नुअघि राम्रोसँग नियम पढ्नुहोस् ।

भिजिटरको संख्या
अस्पताल भनेको कुनै पार्टी प्यालेसजस्तो होइन, जहाँ समूहमा भेला भएर परिवार वा आफन्तजनसँग रमाइलो छलफल हुन्छ । ठूला–ठूला अस्पतालमा बिरामीलाई भेट्नका लागि जान चाहने मानिसको संख्या तोकिएको हुन्छ । बेडभित्र बिरामीलाई असर नपुगोस् वा चिकित्सक र नर्सको नियमित परीक्षण र सेवामा प्रभाव नपरोस् भनी भिजिटरको संख्या तोकिएको हुन्छ । अस्पतालको नियम पालना गर्नु सबै भिजिटरको कर्तव्य हो । दुई जना वा बढी अस्पताल जाँदा आफ्नो चिनेको मान्छेसँग भेट हुँदा त तपाईंहरुलाई अवश्य पनि खुसी लाग्न सक्छ तर सोही समयमा भेट्न गएका बिरामीलाई शान्त वातावरणको आवश्यकता परेको हुन सक्छ । अस्पताल एउटा सार्वजनिक स्थल भएकाले यहाँका बिरामी र कर्मचारीको सम्मान गर्नुहोस् ।

बाहिरी खानेकुरा नलैजानुहोस्
अधिकांश अस्पतालमा पोषणविज्ञ हुन्छन् र उनीहरकै परामर्शमा बिरामीलाई खानेकुरा दिइन्छ । घरमा पकाएका खाना स्वस्थ हुनेमा कुनै शंका नभए पनि खाना खुवाउने विषयमा अस्पतालका नर्सहरुसँग अनावश्यक विवाद नर्गनुहोस् । केही अस्पतालमा बाहिरबाट ल्याएको खानेकुरालाई प्रतिबन्ध लगाइएको हुन्छ । अस्पताल जाँदा क्यामेरा वा खेलौना लिएर नजानुहोस् । किनभने यो कसैका लागि पनि रमाइलो गर्ने स्थल होइन् । अस्पतालका प्रायः सबै नियम बिरामीलाई चाँडै निको पार्नका लागि हो ।

सरसफाइ
अस्पताल र सरसफाइका पर्यायवाची हुन् । प्रायः अस्पताल स्वच्छ र सफा हुन्छन् । तसर्थ बिरामी र परिवारले पनि यस विषयमा विशेष ख्याल गर्नुपर्छ । भर्खर जन्मिएको शिशुलाई भेट्न जाँदै हुनुहुन्छ भने साबुन पानीले हात धोएर मात्र शिशुलाई समाउनुहोस । बिरामीको बेडमा नसुत्नुहोस् र बिरामीको वरपर भएका कुनै पनि उपकरणलाई नछुनुहोस् । किनकि त्यसबाट सक्रंमण सर्न सक्छ । यदि तपाईंमा कुनै संक्रमण भएको छ भने बिरामीलाई असर पर्ने भएकाले सकभर अस्पताल नै नजानुहोस् ।

उपहार
अस्पतालमा भर्ना भएका बेलामा स्वच्छ फूल कसलाई मन पर्दैन र ? तर, संक्रमण सर्ने सम्भावनामा कतिपय अस्पतालले फूल लैजान निषेध गरेका हुन्छन् । बिरामीको अनुहारमा मुस्कान छर्न तपाईंले किताब वा पत्रिका दिन भने  सक्नुहुन्छ । 
बिरामीको शौचालय प्रयोग नगर्नुहोस् ।
मोबाइललाई साइलेन्स वा भाइब्रेसनमा राख्नुहोस् ।
भेटलाई छोटो बनाउनुहोस्।स्वास्थ्य खबरपत्रिकाबाट

सुचना तथा मनोरञ्जनको सम्वाहक