चस्मा लगाउदा नगर्नुहोस् यस्ता गल्ती

रवीन्द्र अधिकारी, आँखा विशेषज्ञ, रेयुकाई आँखा अस्पताल, बनेपा
चस्मा लगाउनुहुन्छ ? स्टाइल दिन या पावरका कारण बाध्यता, जुन कारणले लगाए पनि चस्मा लगाइसकेपछि तपाईंको व्यक्तित्वसँग जोडिएकै हुन्छ । चस्मा दिनदिनै या हरेक महिनामा बदलिरहने कुरा पनि हुँदैन । त्यसैले अर्को चस्मा नफेरुन्जेल चस्मा सफा र आकर्षक बनाइराख्नुपर्ने हुन्छ । तर, केही गल्तीले चस्मा बिग्रिने गर्छः

चस्मा लगाउँदा या फुकाल्दा एउटा मात्रै हातले एकातिर समातेर प्रयोग नगर्नुहोस् । यसरी चस्मा फुकाल्दा चस्माको अगाडिको फ्रेम र खुट्टा जोड्ने मिलनबिन्दुमा दबाब परेर चाँडै भाँचिने या स्प्रिङ फुस्किने सम्भावना हुन्छ । दुवै हातले दुईतिर समातेर सन्तुलित बल प्रयोग गरी लगाउने तथा फुकाल्ने गर्नुहोस् । त्यसैगरी, चस्माको लेन्स सिसाको छ भने सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने भएकाले लगाउँदा विशेष ध्यान दिनुहोस् ।

आँखामा लगाउने चस्मा स्टाइल दिन निधारमा या टाउकोमा लगाउनुभयो भने गल्ती गर्नुभयो । यसो गर्दा फ्रेम खुकुलो हुन्छ । फ्रेम खुकुलो भएको चस्मा आँखामा लगाउँदा आकर्षक देखिँदैन भने खस्ने डर पनि हुन्छ ।

लगाएको चस्मा फुकालेर टेबल या कडा सतहमा राख्ने वेला लेन्स छुवाएर राख्नु गल्ती हुन्छ । यसो गर्दा लेन्स घोटिने र लगाउ“दा धमिलो लाग्ने हुन्छ । टेम्पलतर्फको भाग सतहमा पारेर राख्नुपर्छ । चस्मा खोलेर लामै समयसम्म राख्ने हो भने खोल या बट्टा प्रयोग गर्नु उत्तम हुन्छ ।

चस्मा सफा गर्दा पुछ्नका लागि जस्तो पायो उस्तै कपडा प्रयोग गर्नु गल्ती हुन्छ । खस्रा कपडाले चस्मा सफा नहुने मात्रै होइन, कोरिने पनि हुन्छ । त्यसैले माइक्रोफाइबर रुमाल नै प्रयोग गर्नुहोस् । सफा गर्ने क्रममा नरम साबुन र हल्का तातो पानी पनि प्रयोग गर्न सकिन्छ । ८० डिग्री फरेनहाइटभन्दा बढी तापक्रमबाट भने चस्मालाई जोगाउनुहोस् । चस्माका प्रायः लेन्स या फ्रेम यो तापक्रममा बिग्रिने, खुइलिनेजस्ता समस्या हुन्छ । त्यसो त सफा गर्न लेन्स क्लिनर केमिकल नै पनि पाइन्छ । नोज प्याड सफा गर्दा नर ब्रस प्रयोग गर्न सकिन्छ । अझ अल्ट्रा सोनिक तरंग उपयोग गर्ने मेसिनले सफा गर्नुभयो भने भौतिक बल प्रयोग नगरी चस्माको सबै फोहोर हटाउन सक्नुहुन्छ ।नयाँ पत्रिकाबाट

सुचना तथा मनोरञ्जनको सम्वाहक