लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले दोस्रो स्थानको टोटनह्यामलाई २–० ले हराएको हो । लिभरपुलको जितमा दुवै गोल साडियो मानेले गरे । १३८ सेकेण्डको बिचमा मानेले गरेको गोल टोटनह्यामका लागि घातक बन्यो । मानेले १६ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । त्यसको दुई मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मानेले लिभरपुलको अग्रता दोब्बर पारे । पहिलो हाफको सुरुवातमै २–० ले पछि परेको टोटनह्यामले खेलमा फर्किने प्रयास गर्‍यो तर सफल भने हुन सकेन । जितपछि चौथो स्थानको लिभरपुलको २५ खेलबाट ४९ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ५० अंक छ । यसअघि शनिबार बेलुका भएको खेलमा हल सिटीलाई २–० ले हराएको आर्सनलको पनि टोटनह्यामको समान ५० अंक नै छ । तर गोल अन्तरका आधारमा आर्सनल तेस्रो स्थानमा छ । लिभरपुलसँगको खेल गुमाएको टोटनह्यामले शीर्ष स्थानको चेल्सीसँगको अंक दूरी कम गर्ने मौका पनि गुमायो । एक खेल कम खेलको चेल्सीको ५९ अंक छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक