म्यानचेस्टर सिटीले वेष्ट ह्यामललाई ४–० ले हरायो

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ । म्यानचेस्टर सिटीले वेष्ट ह्यामललाई उसकै मैदान लण्डन स्टेडियममा ४–० ले हराएको हो । म्यानचेस्टर सिटीको जितमा केविन डि ब्राउन, डेविड सिल्भा, गाब्रिएल जिसस र याया टुरेले गोल गरे । १७ औं मिनेटमा डि ब्राउनले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । त्यसको चार मिनेटपछि सिल्भाले अग्रता दोब्बर पारे । ३९ औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लियो । जिससको यो म्यानचेस्रट सिटीका लागि पहिलो गोल हो । पहिलो हाफमा ३–० को अग्रता लिएको सिटीका लागि ६७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै टुरेले गोल गरे र सिटी ४–० ले विजयी भयो । जितपछि म्याचेस्टर सिटीको २३ खेलबाट ४६ अंक भएको छ । लिभरपुलको पनि ४६ अंक नै भएपनि गोल अन्तरका आधारमा सिटी लिभरपुलभन्दा पछि पाँचौं स्थानमा छ । सिटी शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि छ । २३ खेलबाट २८ अंकसहित वेष्ट ह्याम ११ औं स्थानमा छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक