लियोनल मेस्सी र जाल्टन इब्राहिमोविच संघर्ष रहेको खुलासा

लियोनल मेस्सी र जाल्टन इब्राहिमोविच बार्सिलोना रहँदा संघर्ष रहेको बार्सिलोनाका पूर्व निर्देशक मार्क इनग्लाले बताएका छन् । मेस्सी र इब्राहिमोविचले सन् २००९–२०१० को सिजन बार्सिलोनामा सँगै खेलेका थिए । त्यसबेला मेस्सी र इब्राहिमोविचबिच संघर्ष रहेको क्लबका पूर्व निर्देशक इनग्लाले बताए । सन् २००९ मा बार्सिलोनामा अनुबन्धित भएका इब्राहिमोविचले एक सिजनमा बार्सिलोनाका लागि २१ गोल गरेका थिए । अनुबन्ध भएको अर्को सिजनमा इब्राहिमोविच बार्सिलोनाबाट अर्को क्लब गएका थिए । मेस्सीको उपस्थितिकै कारण इब्राहिमोविचले बार्सिलोनामा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको अहिले फ्रेन्च क्लब लिलेमा रहेका इनग्लाले बताए ।
इनग्लाले टेलीफुटसँगको अन्तर्वाताको क्रममा भने ‘इब्राहिमोविचले बार्सामा त्यति राम्रो गर्न सकेनन् । उनी उत्कृष्ट छन्, एक मेसिन नै हुन् । तर बार्सिलोनामा उनी अर्को मेसिन (मेस्सी) सँगै खेल्नु पर्‍यो । त्यसैले सोचे जस्तो भएन ।’
इब्राहिमोविच बार्सिलोनामा जाँदा महत्वपूर्ण खेलाडीको रुपमा गएको र मेस्सीलाई त्यसबेला थप स्पेस चाहिएकाले दुई खेलाडीबिच संघर्ष रहेको हुन सक्ने इनग्लाको भनाई छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक