रियल मड्रिडले ओसासुनलाई ३–१ ले हरायो


स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले ओसासुनलाई ३–१ ले हराएको हो । ओसासुनलाई उसकै मैदानमा हराउन रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डो, इस्को र लुकास भाजक्वेजले गोल गरे । ओसासुनाका लागि लियोन लिमोनेसले एक गोल फर्काए । २४ औं मिनेटमा रोनाल्डोल गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । रोनाल्डोले ला लिगामा यो सिजन अहिलेसम्म १४ गोल गरेका छन् । ३३ औं मिनेटमा ओसासुनाका लिमोनेसले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ६२ औं मिनेटमा इस्कोले गोल गर्दै रियलको अग्रता २–१ मा पुर्‍याए । इन्जुरी समयमा भाजक्वेजले गोल गर्दै रियल मड्रिडलाई ३–१ को जित दिलाए । जितपछि शीर्ष स्थानको रियल मड्रिडको २० खेलबाट ४९ अंक भएको छ । राति नै भएको खेलमा एलाभेसलाई ६–० ले हराएको दोस्रो स्थानको बार्सिलोनाको ४८ अंक भएको छ । उसले दुई खेल बढी खेलेको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक