सडक मर्मतमा स्थानीयको अवरोध

सर्लाहीको मूर्तियाका स्थानीयवासीले सडक मर्मतको काममा अवरोध गरेका छन् । नयाँरोड–मधुवनी सडक मर्मतको क्रममा जथाभावी खाल्डो पारेर माटो झिकेको भन्दै मूर्तियावासीले आज बिहान देखि काम ठप्प पारेका हुन् । मूर्तियावासीले सडक मर्मत गर्नुपर्ने तर सम्याउने बेला माटो भने अरुनै ठाउँबाट ल्याएर हाल्नुपर्ने माग गरेका छन् । स्काभेटर लगाएर मनपरी सडकमा खाल्डो पार्दा सवारी दुर्घटना र साना बालबालिका डुब्ने जोखिम भएपछि निर्माणमा अवरोध गरेको स्थानीय दुर्गा श्रेष्ठले जानकारी दिनुभयो । ठेकेदारले सडक मर्मतका लागि भएको सम्झौता नदेखाएसम्म काम अघि बढाउन नदिने स्थनीयवासीले अडान लिएका छन् । सडक मर्मतको ठेक्का पाउनु भएका ठेकेदार सुरेन्द्र सिंहले भने सम्झौता अनुसार नै आफूले मर्मतको काम गरिरहेको र भोली मूर्तिया पुगेर स्थानीयलाई सम्झौता पत्र देखाउने बताउनु भएको छ । 

काँगे्रसको प्रशिक्षण सूरु ।। सर्लाहीको लालबन्दीमा नेपाली काँगे्रसको दुई दिने प्रशिक्षण सूरु भएको छ । अगुवा कार्यकर्ताहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरिएको नेपाली काँगे्रसका नगर सभापति प्रशान्त आचार्यले जानकारी दिनुभयो । प्रशिक्षणको आज दिउँसो लालबन्दी नगरपालिका सभा हलमा काँगे्रसका केन्द्रीय सदस्य धनराज गुरुङले उद्घाटन गर्नु भएको हो । संगठन सुदृढ र मजबुद बनाउने उद्देश्यले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्न लागिएको नगरसभापति आचार्यले बताउनुभयो । उहाँका अनुसार काँगे्रस केन्द्रीय सदस्य धनराज गुरुङ, महिला संघकी पूर्व अध्यक्ष डा. डिला संग्रौला, नेतृ बिना उपाध्याय लगायत कार्यकर्ताले प्रशिक्षण प्रदान गर्नुहुने छ । भोली सम्म चल्ने प्रशिक्षणमा झण्डै दुई सय जना कार्यकर्ता सहभागी भएका काँगे्रसले जनाएको छ।

सुचना तथा मनोरञ्जनको सम्वाहक