उदयपुर गोल्डकप : हिमालयन शेर्पा क्लब सेमिफाइनलमा प्रवेश

हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गाईघाटको थरुहट रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टोली त्रियुगा नगरपालिका ११ लाई ४–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा पुगेको हो ।  
खेलको ११ औं मिनेटमा शेर्पाका सुरज हमालले पहिलो गोल गरेका थिए । २२ औं मिनेटमा उदयपुरका रामु थापा मगरले खेल बराबरीमा पुर्याए । त्यसपछि खेलमा उदयपुरको आत्मघाती गोल भयो र हिमालयन शेर्पा २–१ ले अघि रह्यो । खेलको ७९ औं मिनेटमा हिमालयन शेर्पाका मौसा कामागाटेले गोल गरेर टिमलाई ३–१ को स्थितिमा पुर्याए । ८२ औं मिनेटमा शेर्पाका विश्वास श्रेष्ठले गोल गरेर टिमलाई ४–१ को जित दिलाए ।  
सिमरा गोल्डकपमा बिहीबार त्रिभुवन आर्मीसँग हारेको हिमालयन शेर्पाले रातारात उदयपुर पुगेर शुक्रबार घरेलु टोलीसँग खेलेको हो । उदयपुर गोल्डकपमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मोरङ फुटबल क्लबबिच खेल हुने छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक