काठमाडौं । नेपाली संस्कृतिलाई कलामा उतारेर देश विदेशमा पु¥याउनुपर्ने कलाकारको दायित्य भएको अग्रज पोखरेली कलाकार आलोक गुरुङले बताएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले नियमित गर्दै आएको ‘कलाका कुरा’ को २६औँ शृंखलामा उनले नेपाली कला क्षेत्रमा पछिल्लो समय निकै प्रगति भएको बताएका छन् । शुक्रबार डिल्लीबजारस्थित फलैँचा स्पटमा मासिक कार्यक्रममा उनले नेपाली कलामा नयाँ पुस्ताले सिर्जनात्मक ढंगले काम गर्दै अघि बढेको धारणा राखे
राज्यले कलाक्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘कलाले देशको पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यले कला र कलाकारको संरक्षण र प्रबर्धनमा ध्यान दिनुपर्छ ।’
तनहुँमा जन्मिएका ६५ वर्षीय कलाकार गुरुङले पोखरामा बसेर साढे तीन दशकदेखि निरन्तर कलाकर्ममा लागिरहेका छन् । उनले बनाएका चित्र नेपालका विभन्नि स्थानका साथै विश्वका विभिन्न मुलुकमा पुगेका छन् । देशको संस्कृति, प्रकृति र जनजीवनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन पाएकोमा उनले सन्तोष मान्दै भने, ‘एउटा कलाकारले गर्ने भनेकै आफू र आफ्नो मातृभूमिलाई चिनाउनु र फैलाउनु हो ।’
आफ्ना कलाका बारेमा बोल्दै उनले भने, ‘आफैंले बनाएका सिर्जनालाई हेरेर आफ्नो गल्ती, कमजोरी पर्गेल्न सक्ने क्षमताको विकास हुनु भनेको कलाकारितामा उ खारिदै जानु हो ।’ आफूले बनाएका चित्र केही समयपछि फेरी हेर्दा त्यसलाई अझै राम्रो र आकर्षक बनाउन सकिन्थ्यो भन्ने सोच हरेक पटक आउने उनले बताए ।
उक्त कार्यक्रममा सहभागी हुन गुरुङ पोखराबाट राजधानी आएका हुन् । कलामार्फत मैले देशका विभिन्न स्थान घुम्ने र त्यहाँको संस्कृति, रीतिथितिलाई नजिकबाट नियाल्ने अवसर पाएको बताउँदै भने, ‘तिनलाई सकेसम्म चित्रमा उतारेर सांस्कृतिक सचेतनाप्रति आफूलाई समर्पित गरेको छु ।’
उनी भारतीय सेनामा कार्यरत् बाबुसँग दस वर्षको उमेरमा जम्मुकाश्मिर पुगेपछि स्कुले पढाइ सुरू गरेका गुरूङले आफूलाई पढाउने शिक्षकले बनाएका कलाकारिताबाट प्रभावित भएर यस क्षेत्रमा लागेको बताए । बेलाबेलामा भइरहने बाबुको सरूवाका कारण उनले नौ कक्षासम्मको अध्ययन गरेको गुरुङले आफ्नो विगत सम्झिए । बुवाको अवकासपछि उनी भैरहवामा आएर कलाक्षेत्रमा लागे ।
हिन्दी माध्यमबाट पढेका कारण नेपालमा सुरुमा पढ्न गाह्रो भएकाले नेपाली माध्यमबाट अध्ययनलाई अगाडि बढाउन गाह्रो भएको उनले सुनाए । त्यसपछि उनको अध्ययनमा पूर्णविराम लाग्यो । तर कास्मिरमा उनलाई ट्युसन पढाउने शिक्षक हेमबहादुर थापाले दिएको कलाको थोरै ज्ञानलाई मिहिनेतका साथ अगाडि बढाए ।
उनले त्यत्तिवेला बजारमा पाइने लेनिनको पोस्टरलाई कपी गरे । पहिलो पटक लेनिनको तस्बिरलाई चित्रमा उतारेपछि दंग पर्दै उल्ट्याइपोल्ट्याइ हेरेको बताए । त्यसपछि विभिन्न रङ, ब्रस, कार्डबोर्ड हुँदै क्यानभास लगायतका माध्यममा विभिन्न व्यक्ति, पत्रिकामा छापिएका हिरो, हिरोइनका तस्बिरलाई उतार्न थाले । ती चित्रलाई मन पराएर छिमेकीले ‘दुरूस्तै पो बनाएछौ’ त भन्दै आफ्नो घरमा लगेर टाँगिदिदा उनी मख्ख पर्थे ।
०३६ ताका उनले भैरहवामा रहेको तिलक आर्टमा काम गर्न थाले । आर्टका तिलक गुरुङले घरमा आएको बेला चित्र देखेर पसलमा काम गर्ने अफर गरेको उनले सुनाए । ०३६ सालतिर हरेक कार्यालयमा राजारानीको तस्बिर झुण्याउने प्रचलन थियो । उक्त पसलमा राजारानीका तस्बिर देखेका गुरूङले तिनलाई दुरूस्त उतार्न थाले । उनले बनाएका राजारानीका मुहारचित्रको सरकारी कार्यालयबाट व्यापक माग हुन थाल्यो ।
त्यसको तीन वर्षपछि उनी पर्यटकीय नगरी पोखरामा कलाको व्यवसायिकता खोज्दै झरे । पर्यटकको चापका कारण उनका चित्रको माग बढ्दै गयो भने राजारानीका चित्रको समेत माग बढ्दै गयो ।
उनले कास्कीका पर्यटकीय क्षेत्रमा पुगेर दृश्यचित्र, मुहारचित्र बनाउने कामलाई तीब्रता दिए । अहिले उनले नेपालका सबै जनजातिको पहिचान झल्कने कला बनाउने लक्ष्यका साथ देश घुमिरहेका छन् । देशका विभिन्न भु–भागमा पुगेर स्थानीय जीवनशैली, भेषभूषा, रूपरङ्ग नियाल्दै तिनलाई कयानभासमा उतार्ने उनले लक्ष्य लिएका छन् ।
स्वअध्ययनबाटै कलामा स्थापित हुन सफल भएको अनुभव सुनाउँदै उनले अहिले कला सिक्न चाहनेहरूका लागि भ्याएसम्म सिकाउँदै आएको बताए । उनले सम्झे, ‘मसँग कला सिकेका थुप्रै व्यक्ति कला क्षेत्रमा अहिले स्थापित भएका छन् । मलाई यसमा निकै सन्तोष लागेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here