काठमाडौं । जेसीज अभियानकै अग्रणी संस्था काठमाडौं जेसीजले स्थापनाको पचासौं वार्षिकोत्सवलाई स्वर्ण महोत्सवका रुपमा भव्यताका साथ मनाउने भएको छ । काठमाडौं जेसीज वर्ष २०१९ को पहिलो बोर्ड बैठकमा वर्षैभरी विभिन्न कार्यक्रमहरु गर्ने तथा स्वर्ण महोत्सवको मूल समारोहलाई भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

काठमाडौं जेसीजका अध्यक्ष भुवनकुमार श्रेष्ठको अध्यक्षतामा तीनकुनेस्थित कार्यालयमा बसेको बैठकले स्वर्ण महोत्सवका सन्दर्भमा स्मारिका प्रकाशन गर्ने, काठमाडौं जेसीजको ईतिहासदेखि वर्तमानसम्म समेट्ने गरी वृत्तचित्र निर्माण गर्ने, विभिन्न च्यारिटी शोहरु आयोजना गर्ने लगायतको निर्णय गरेको हो । ‘काठमाडौं जेसीजको स्वर्ण महोत्सवलाई ऐतिहासिक र भव्य बनाउन पहिलो बैठकले नै विभिन्न निर्णय गरेको छ । यो वर्ष काठमाडौं जेसीजका लागि विशेष वर्ष रहनेछ ’ अध्यक्ष श्रेष्ठले भने ।

काठमाडौं जेसीजका महासचिव अनुप सुनुवारले बोर्ड बैठकले भावी कार्ययोजना, आर्थिक योजना तथा जिम्मेवारी बाँडफाँडका सन्दर्भमा महत्वपूर्ण निर्णयहरु गरेको छ । काठमाडौं जेसीजकै आयोजनामा शुक्रबार काठमाडौंमा एलओएम अफिसर तालिम तथा पूर्व अध्यक्षहरुसंगको भेटघाट कार्यक्रम राखिएको महासचिव सुनुवारले जानकारी दिए ।