बिहानी भालेको डाकसंगै मेरा छिमेकी खोल्सीठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी हुनुहुदो हो । तर बिस्तारै बुझ्दा कुरा त्यसो रहेनछ । फुर्सदमा एकदिन हामीलाई बताउनु भयो कि मानिसहरुले मात्र होइन संसारका सबै जीवले संगीतको आनन्द लिन सक्दछन, उत्प्रेरित गर्न सक्दछन । जुन कुरा पछिल्लो समय बिज्ञानले पनि सत्य साबित गरेको छ । मानिसका भावनालाई प्रस्फुटन गर्ने बिबिध विधा तथा माध्यमहरु मध्ये गीत संगीत एक उत्कृष्ट माध्यम भएको कुरा पनि बिभिन्न विचारकहरुको भनाईबाट पुष्टी हुने गर्दछ ।

लेखनरपत्रकारिता भन्दा साहित्य र साहित्य भन्दा संगीत माथिल्लो स्तरको विधा हो । पत्रकारिता तथा लेखमा बढी दिमागको प्रयोग हुन्छ, साहित्यमा दिमाग र मन(मुटुको सन्तुलित उपयोग हुन्छ भने गीत संगीत बढी मन(मुटुको भाबबाट सिर्जित हुने गर्दछ । अनि संसारमा मन(मुटु भन्दा माथिको अर्को सगरमाथा हुन्न । पत्रकार बिजय पाण्डेका यी हरफहरुमा सत्यता भेटिन्छन, यथार्थता देखिन्छन् ।

जीवनमा साहित्य, संगीत र कला अपरिहार्य छ भन्ने नीति वचन पनि उल्लेखनीय छ । साहित्य, संगीत र कला विहीन मान्छेलाई पुच्छर नभएको पशुकोपनि उपनाम दिईएको भेटिन्छ । सबैथोक भएर पनि पुच्छर नभएको पशु कस्ता देखिन्छन् मान्छेलाई पनि त्यस्तै असुहाउँदिलो र नराम्रो देखिन्छ । पुच्छरहिन पशुको जसरी शोभा रहँदैन त्यसैगरी साहित्य, संगीत र कलाहीन मान्छेलाई पनि सुहाउँदैन । जीवनलाई सुन्दर बनाउने तत्त्व भनेका साहित्य, संगीत र कला हुन । साहित्यले जीवनलाई आनन्दित पार्छ । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत, कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ ।

वास्तबमा गीत, संगीत विनाको संसार अधुरो र अपूर्ण छ । मेरो पनि संगीत र कलाप्रतिको अनुरागको प्रारम्भिक प्रेरणाश्रोत मेरी ठुलीमा डुकुना नेवार बनेर आउनु भयो । अबोध बालापनमै संगीतको साधना मार्फत जीवनलाई पूर्णताको गोरेटोमा पाईला सार्ने मलाई अवसर जुट्यो । देखिने पूर्णता र बोध गरिने पूर्णता धेरै फरक बिषय रहेछन । अनुभूतिमा पूर्णता प्राप्त गर्ने कुराले मात्र जीवनमा महत्व राख्दो रहेछ ।

नेपालमा संगीतिक जीवन

गायन पेशा

कालजयी आवाजको अनुपम उपहार दीई धेरै कलाकारहरुले कला जगतको उचाई बढाउनु भएको छ । सम्पूर्ण कुरा त्यागी गीत, संगीतको साधनामा धेरै जीवनहरु अर्पण भए । राष्ट्र तथा जनताका हरेक परिवर्तनमा गीत, संगीतले अत्यन्त महत्वपुर्ण भूमिका खेलेको छ । तथापी, संगीत, गायन विधामा संलग्न कलाकारहरुलाई अझै पनि ‘गाईने’ भनि कुनै निश्चित सम्मानित जाति समुदाय र सिंगो कलाकारहरुको समेत अपमान गर्ने केही कमजोर मानसिकताबाट हामि उठ्न सकेका छैनौ । अन्तरराष्ट्रिय क्षेत्रमा समेत शसक्त पेशा मात्र नभई संदेश सम्प्रेषणको बलियो माद्यम र हर जीवनमा उर्जा प्रदान गर्ने स्थापित पेशालाई अपमानित गर्नु हाम्रो गम्भीर समस्या हो । एक छोरि वा बुहारीले गायिका भएर जीवन चलाउने कुराको पिडा अझ दर्दनाक छ । पिंजडा भित्रको स्वतन्त्रताका साथ कलाको साधना गरि मानो चलाउने बाध्यत त छदैछ । त्यसैले, हाम्रो बुझाई र सोचाईको चस्मामा पावर फेर्न जरुरि छ ।

भल्गारिटि र गायन 

पछिल्लो समय गीत संगीतको प्रस्तुतीलाई लिएर भल्गारिटिसंग पनि जोडिएको पाइन्छ । फलानो ले यस्तो लायो, त्यस्तो देखायो । मागले पूर्तिलाई डोर्याउने कुरा सामन्य नियम हो । जुन बस्तुको बढी माग हुन्छ त्यही बस्तुले बढी बजार पाउने गर्दछ । कतिपय भल्गारिटिको उक्साईमा हाम्रै भुमिका पनि सहायक भएको कुरा पनि हामीले बिर्सन नहुने कुरा हुन । हरेक कलाकारका स्टेजमा प्रस्तुत हुने आफ्ना आफ्ना तरिका र शैली हुन्छन । कपडाको लम्बाई, बाहिरी आवरण र शैली भन्दा स्टेजमा प्रस्तुत हुने कलाकारको गायकीको कुरा प्रमुख मुल्यांकनको बिषय बन्नु पर्दछ । कलाकारहरु समाजकै उत्पादन भएको हुनाले सामाजिक अपेक्षा अनुररुपनै मर्यादाको सिमा भित्र रहेर कलाकारहरुले पनि प्रस्तुति दिनु पर्ने हुन्छ । निश्चय रुपमा हाम्रो संस्कार र संस्कृतिको विकासमा सबै कालाकारहरु गम्भीर हुन जरुरी छ ।

सस्तो लोकप्रियता 

पछिल्लो समय कलालाई नभई कमाईलाई अलि महत्व दिने प्रवृती पनि बढेको हो कि भन्ने आभास छ । कलाको गहिराईलाई भन्दा नगद बिटोको मोटाईमा बढी कलाकार लोभिएको कुरा पनि सुन्नमा नआएका होइनन । अघिल्ला गायन, लेखन र संगीतका तुलनामा हाल कृतिमताले बढीनै ठाऊं लिन गएको धेरैको टिप्पणी रहेको छ । वास्तविक कलामा गहिरो साधना गरी गुणस्तर दिने भन्दा अलि बढीनै फेसबुक लाईक, कमेन्ट अनी युट्युब भ्युअर बढाउने कुरामा महत्व दिने बाटो तर्फ पो लगियोकि भन्ने प्रश्न चिन्न पनि हामी समक्ष छन् ।

कलाकारितासंग सम्बन्धित बिभिन्न पुरस्कारले कला जगतमा ठुलो प्रोत्साहन मिलेको छ । पुरस्कार, प्रोत्शाहन र दर्शकहरुको मायालेनै कुनैपनि कलाकारको जीवनको गतिशिलतामा शक्ति मिल्दछ । बिभिन्न सरकारी तथा निजि स्तरमा प्रदान हुने प्रोत्शाहन र प्रसंशाले कला जगतको उचाई र महत्व समाजमा बढेको कुरा स्पस्ट छ । तर, पुरस्कार बितरणमा न्याय गर्न कमजोरी हुंदा बितरक संस्थानै बिबाद र बदनामिका शिकार नभएका पनि होईनन ।

कलाकार हुनुको कठिनाई 

चाडबाड, गाह्रो अप्ठ्यारो, स्वस्थ स्थिति अनि व्यक्तिगत जीवन नभनी कलाकारहरु रातदिन खट्नु पर्ने स्थिति छ । देश विदेशमा नेपाली पहिचाहन, आफ्नो पन र संदेश लिएर कलाकारहरुले भूमिका खेलका छन् । सुख, दुस्ख, खुशी, पार्टी, सम्झना, कल्पना, संदेश, विकास, राष्ट्रियता आदी हर समयमा गीत संगीतले हरेक व्यक्तिलाई साथ दिएको हुन्छ । तर, एक कलाकार आफ्नै माटोमा, सडकमा भोक भोकै मरेको, उपचार गर्न नसकेको तितो अनुभवहरु पनि हामि समक्ष छन् । संगीतको साधना गर्दा गर्दै भबिस्यका सम्भावित काला दिन भुलेका हुन्छन् । संगीतको साधनामा डुबेर ब्यापार, लोकसेवा, जागिर आदि इत्यादीको कहिले कल्पना गरेका हुन्नन् । कम्तिमा गम्भीर आवश्यकतामा सरकारले न्युनतम जीवन गुजारामा, प्राथमिक उपचारमा सहयोग पुर्याउन जरुरी छ । कलाकारहरुको रोयल्टीलाई पनि थप ब्यबस्थित, पारदर्शी र जीवनमुखी बनाउन जरुरी छ ।