उज्यालोको मुटु

छलकपटको तीखा तीरहरूले रोपेर

एकहूल बाँदरहरू अँध्यारोको सुरुङ् खनिरहेछ

सुरुङ्को प्रत्येक खोपीखोपीमा षड्यन्त्रको काँडा रोपेर

नाङ्गा पैतलाहरूलाई हिड्न सिकाई रहेछ

बस्तैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

विद्यालय भत्काएर केवल नाराहरू

पर्खाल-पर्खालहरूमा लेख्न सिकाई रहेछ ।

उज्यालोको पैतलाहरूमा

मूर्खताको अँध्यारो काँडाहरू उमारेर

वर्तमानलाई रगताम्मे पारी कुल्चेर

समृद्धिका ढाडहरूमा सिस्नोपनीले कुट्दै

सपनाका हात र खुट्टाहरूमा हतकडी लगाउँदै

प्रभुत्ववादीका बनमारा उमारी रहेछन् ।

नौरानमा

ब्राह्मणले राखिदिएको

बत्तीसलक्षणले युक्त नाम

बाघचालको सिलौटामा पिसिंदै

आज कर्णालीको बगर-बगरहरूमा

आफैले फोडेको टुकृएको प्रत्येक गिट्टीहरूमा

र उठेको आफ्नै हत्केलाको प्रत्येक ठेलाहरूमा

मेरो आफ्नै अस्तित्वहुनुको नाम खोजिरहेछु ।

भन्न त भन्थे रे ब्राह्मणले

मेरो आमा र बालाई –

”तिम्रो छोरा राजा हुन्छ राजा”

हो, म आज त्यही टुकृएको पत्येक गिट्टीहरूमा

आफ्नो राजगद्दी खोजिरहेछु

र मेरो ललाटबाट चुहिरहेको पसिनाको

प्रत्येक थोपाथोपाहरूमा

मेरा आदर्णिय शहीदहरूको रगतको रङमा

मेरो देशको मानचित्र खोजिरहेछु ।

अनि छलकपटको

ईरेजरले मेटिएको मेरो आफ्नै देशको भूगोलमा

सपनाका आलो रगतमा शहीदहरूले टेकेका

समृद्धिका डोबहरू खोजिरहेछु

कर्णालीका सपनाहरू खोजिरहेछु ।

खै देख्दिन अचेल

बसेको आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा

केवल समृद्धिका सपनाहरू फिजारिएको छ

जून निदाउँछ फेरि ब्युँझन्छ

तर समृद्धिको सपनाहरू जूनको छायाले

कहिल्यै सुक्न सुकेन ।

सुकुलमा फिजारिएको

समृद्धिको सपनाहरू सुक्न त

सुकुलको किनाराहुँदै घाम पो बग्नु पर्दो रहेछ

आज मेरो भविष्य हेर्ने बाजे र म

उही एउटै टुकृएको प्रत्येक गिट्टीहरूमा

आफू हुनुको अस्तित्व खोजिरहेछु

आफू हुनुको अस्तित्व खोजिरहेछु ।

राजबाबु श्रेष्ठ ‘सागर’

महोत्तरी, गौशाला न. पा. वडा न. १