“शिक्षित नेपाल समृद्ध नेपाल, स्वस्थ नेपाल सुरक्षित नेपाल” मूल नाराका साथ प्यारागन पब्लिक स्कूल, तिलगंगाले विद्यालय स्थापनाको २५ वर्ष पूरा गरेको शुभअवसरमा पाँचौ खुल्ला सडक दौड प्रतियोगिता आज तिलगंगामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख  अतिथिज्यू प्रदेश नं. ३ का प्रमुख माननीय अनुराधा कोइरालाद्वारा विद्यालयका संस्थापक निर्देशक स्व. सकिल उद्धिनको स्मृतिमा निर्मित विद्यालय स्मारकको पनि समुद्घाटन गर्नुभयो । 

कार्यक्रममा प्रमुख अतिथिले धेरै बोल्नुभन्दा थोरै बोल्नु सटिक हुने बनाउँदै नारामा मात्र सिमित रहेको निःशुल्क शिक्षा, सर्वसुलभ शिक्षा तथा शिक्षाको सबैको पहुँचलाई व्यवहारमा उतार्नु जरुरी रहेको बताउनु भयो । विशेष अतिथि गिता राणाले शुरुवात नै गन्तव्यसम्म पुग्ने पहिलो लक्ष हुनुपर्छ भन्दै राम्रो शुरुवात गर्ने पहिलो हुने अन्य दोश्रो तेश्रोमा आउने नियम नै सर्वमान्य नियम हो भन्नुभयो ।

प्रबन्ध निर्देशक साकिर उद्धिनले स्वास्थ्य नै धन हो, हरेक पाइला नयाँ उपलब्धीको बाटो हो यसैलाई सार्थक तुल्याउन यो खेलकूदको आयोजना गर्न पाएकोमा सबैलाई धन्यवाद दिनुभयो । गत वर्ष राष्ट्रिय धावक समेत सहभागी गराई प्रतियोगिता सम्पन्न गरेको अनुभव सुनाउँदै यस प्रतियोगितालाई एउटा राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा विकाश गर्दै लाने विद्यालयको लक्ष्य रहेको बताउनुभयो । दौड पश्चात आयोजित कार्यक्रममा प्रमुख अतिथिज्यूको हातबाट वडिविल्डीङ्गका विश्वविजेता महेश्वर महर्जनलाई ताम्रपत्र तथा नगद रु. २५,००० बाट सम्मान गरिएको थियो भने दौडमा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय प्राङ्गणबाट शुरु भै सिनामंगल एयरपोर्ट तिलगंगा हुँदै पुनः विद्यालयमै समापन भएको आजको यो ५ कि मि. खुल्ला दौड प्रतियोगिता विभिन्न आठ बिधामा छुट्याइएकोमा खुल्ला तर्फ आर्मि र प्रहरीको वचस्व रह्यो । महिला खुल्ला (रातो) तर्फ त्रिभुवन आर्मि क्लबका विश्वरुपा बुढा प्रथम, सन्तोष श्रेष्ठ द्वितीय र पुलिस क्लबका राजपुरा पाछै तृतीय भए भने पुरुष खुल्ला (रातो) तर्फ आर्मीका  गजेन्द्र राई, हरि रिमाल तथा टीकाराज कटुवाल क्रमशः प्रथम द्वितीय र तृतीय भए । त्यस्तै अन्तर विद्यालय महिला तर्फ बिनिता स्याङतान (कोटदेवी) प्रथम, बिलाक्षी गौतम (प्यारागन) दोश्रो तथा एलिना के.सी. (तेरेसा एकेडेमी) तेश्रो भए भने पुरुष तर्फ सन्तोष नाथ योगी (बडि मालिका, कालिकोट) प्रथम, नविन कार्की (श्री गणेश) दोश्रो र आलोक थापा (न्यू नलेज) तृतीय भए । पूर्व विद्यार्थी बिच भएको दौडमा महिला तर्फ रबिना श्रेष्ठ तथा पुरुष तर्फ पेम्बा शेर्पा प्रथम भए । साथै विद्यालय स्तरीय खुल्ला महिला दौड तर्फ अनु अधिकारी, सुनिता राई र तारा गुरुङ्ग क्रमशः प्रथम, द्धितीय र तृतीय भए भने पुरुष तर्फ भेग बहादुर पहाडा, किरण राई, निमा दोर्जीलामा क्रमशः प्रथम, द्धितीय र तृतीय भए । (हेरौ तस्बिरहरु )