नेपाली गाउँघरमा उत्पादन हुने मौलिक, रैथाने तथा विषादीरहित तरकारी र घरेलु उत्पादनहरुको प्रवर्द्धनका निम्ति कृषक तथा कृषि उद्दमी र उपभोक्ता बिच प्रत्यक्ष भेटघाट हुने बजारथलोको रुपमा ललितपुर महानगरपालिका वडा न. ४ धोबीघाटस्थित अगेनो रेस्टुरेन्टमा शुरु गरिएको शनिबारे साप्ताहिक हाट बजारको ललितपुर महानगरपालिका , वडा नं ४, का वडा अध्यक्ष श्री नारायण के.सी. ज्युबाट औपचारिक उद्घघाटन गर्नु भयो ।

कृषि कर्मलाई राम्रोसंग बुझेका वडा अध्यक्ष , श्री नारायण के.सी. ज्युले स्थानीय संघसंस्थाहरुको समन्वयमा यस्ता हाट बजारहरु टोल टोलमा संचालन गर्न सके कृषक तथा उपभोक्ता दुबै लाभान्वित हुने बताउनु भयो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बोध गर्दै , अगेनो रेस्टुरेन्ट र बिल्ड नेपाल म्यानेजमेन्टले संयुक्त प्रयासमा शुरु गरेको यो हाट बजार १६ औ हफ्तामा आइपुग्दा हाटबजारका उद्दमीहरु सम्मिलित ९ सदस्यीय एक कार्यसमिति पनि गठन गरेका छन ।

गाउँ घरको आफनै विशेष परिवेशबाट शुरु भएको हाट बजारको शैली पछ्याउँदै , आजकल शहर बजारमा पनि यस्ता हाट बजारहरु शुरु हुनाले, नेपालीपन र मन भएका कृषक तथा उद्दमीहरुका साथै उपभोक्ताहरु दुबैको हितमा हुने देखिन्छ ।

२० भन्दा बढी कृषक तथा कृषि उद्दमीहरुको सहभागीता रहदै आइरहेको अगेनो हाट बजार हरेक शनिबार दिउँसो २ देखि ५ बजेसम्म संचालन हुँदै आइरहेको छ ।