प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताउनुभएको छ ।
बिहीबार राजधानीमा आयोजित संबिधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना बिषयक राष्ट्रिय कार्यशाला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनु भएको हो । प्रधानमन्त्री ओलीले यसप्रति आफू क्षमाप्रार्थी रहेको भन्दै विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र आफूलाई जानकारी नदिनुले लज्जित हुनुपरेको उल्लेख गर्नुभयो । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले यसबारे अनुसन्धान समेत भइरहेको जानकारी दिनुभयो ।
नेपालीको भान्सामा विषादी पाक्न नदिने भन्दै शुद्ध खाना खुवाउने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने समेत जिकिर गर्नुभयो ।