प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेका व्यक्तिहरुको उद्धार, राहत तथा घाइतेहरुको उपचार प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले बेपत्ता भएकाको खोजी र विस्थापितहरुको उचित आश्रयस्थलको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । समितिले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

“मृतकप्रति समिति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ, विपद्बाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”, समितिका सभापति शशी श्रेष्ठले भन्नुभयो ।

सभापति श्रेष्ठले थप्नुभयो, “विपद्बाट घाइते भएकाहरुको प्रभावकारी उपचार, बेपत्ताहरुको शीघ्र खोजी तथा विस्थापितहरुको व्यवस्थापन र पुनस्र्थापनको काम यथाशीघ्र गरियोस् साथै बाढीपहिरोबाट महामारी फैलन सक्ने घटनालाई ध्यान दिँदै स्वास्थ्यकर्मी र औषधिको पर्याप्त व्यवस्था गर्न समिति सरकारलाई निर्देशन गर्न चाहन्छ ।”

समस्या आउने बित्तिकै सरकारले उद्धार र राहत कार्यलाई तीव्र गति दिएकामा समितिले सरकार र सुरक्षा निकायलाई धन्यवाद दिएको छ । बैठकमा सांसदहरुले मानवीय कारणले विपद् बढ्दो क्रममा रहेकाले यसतर्फ पनि ध्यान दिँदै विकास निर्माणमा गतिविधिलाई प्रकृतिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

भारतसँगको असमान सम्झौताका कारण पनि कतिपय बस्ती डुबानमा परेको भन्दै त्यसको पुनरवलोकनका लागि कूटनीतिक पहलको जरुरी रहेको सांसदहरुको धारणा थियो । नेपालमा बाढीपहिरो आउँदा त्यसको असर भारतमा समेत पर्ने भएकाले कूटनीतिक प्रयासमार्फत दीर्घकालीन समस्या समाधानमा लाग्नुपर्नेमा सांसदको जोड थियो । बिना प्राविधिक डोजरको प्रयोग गरी प्रकृतिलाई विनाश गरिएकाले विपद्बाट थप क्षति भएको अधिकांश सांसदको भनाइ थियो ।