नागपञ्चमी हरेक श्रावण महिना अन्तर्गत शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको बिशेष पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान शिव को पूजा आराधना पनि गरिन्छ। नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने प्रचलन छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ ।
नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार(ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । पश्चिम नेपालका दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद ऋतु सुरू हुन्छ भन्ने जनमान्यता रहेको छ। गपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ। नाग पञ्चमीको दिन विभिन्न मठ मन्दिर हरु मा भक्तजन हरु को भिड लाग्ने गर्छ। काठमाडौँ को नाग पोखरी मा नागको बिशेष पुजा हुन्छ।