नेवाः पत्रकारहरुको संगठित गर्नुका साथै हक अधिकारका लागि कार्य गर्ने उद्देश्यले स्थापित नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको शनिबार  सम्पन्न पाँचौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । काठमाडौं जिल्लाको नेतृत्वमा अर्विन्दमान सिं अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भयो भने उपाध्यक्षमा  प्रविण महर्जन प्रजापति, सचिव रत्न काजी मन, सहसचिव शरण हरि महर्जन, सहसचिव विनिता खड्गी, कोषाध्यक्ष राजेन्द्र मानन्धर “नीलः” निर्विरोध निर्वाचित हुनु भयो। त्यस्तै  सदस्यमा रेखा शाक्य, राजेन्द्र मानन्धर, विमला मानन्धर, शैलेस डंगोल, किचः सिंह, रोजिता बुद्धाचार्य, विजय सिंह, मनोजरत्न शाही र सहयोग रंजित सर्वसम्मत निर्वाचित हुनुभयो । दबूका केन्द्रीय उपाध्यक्ष सुरजवीर बज्राचार्यको  नेतृत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको थियो । निर्वाचन अघि भएको उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै आजको अवस्थामा पत्रकारको परिभाषा स्पष्ट गर्नुपर्ने अवस्था आएको बताउनु भयो । दबूका काठमाडौं जिल्ला समितिका अध्यक्ष नातिकाजी महर्जनको सभापतित्वमा भएको उद्घाटन सत्रमा विशेष अतिथिका रुपमा नेपाल कला प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ फोटोपत्रकार गोपाल चित्रकार उपस्थित हुनु् भएको थियो । प्रदेशसभाका सदस्यद्वय राजेश मानन्धर र जीवन डंगोल अतिथिका रुपमा उपस्थित सभामा केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले समेत सम्बोधन गर्नुंभएको थियो ।