महान् पर्व बडा दशैंको तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुंदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख गरिएको छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु विहानैदेखि शक्तिपीठहरुमा पुगेका छन् । देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ ।