बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीमा कालरात्री भगवतीको पूजा गरिन्छ। देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ। आजको दिन देशभरका विभिन्न शक्तिपीठ साथै घर घर मा फूलपाती भित्र्याइँन्छ ।घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत विधिपूर्वक फूलपाती भित्र्याइन्छ। नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ।

आजको दिन नै हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्ला सम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले फूलपाती बोके ल्याउने र धादिङ जिल्ला देखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहदै आएको छ । फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ । नेपाली सेनाले पनि सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गर्दछ।

आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स(साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।