प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँका उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीलाई हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको बताउनुभयो । प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार गरिएको उहाले बताउनुभयो । त्यस्तै प्रा डा अरुण सायमीले प्रधानमन्त्री ओलीलाई तीन दिन सम्म अस्पतालमा राखेर उपचार गरिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार बिहान सेन्टरमा जानुभएको थियो । विज्ञ टोलीले उहाँको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो । उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न हुनुहुन्छ ।