आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर ’वि विल राइज फाउण्डेसनले’दोस्रो भिडियो प्रतियोगिता गर्ने भएको छ ।

फाउण्डेसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले नेपाल पर्यटन बोर्ड,नेपाल चलचित्र विकास बोर्ड,गैरआवासीय नेपाली संघ, ग्लोरियस गण्डकी प्रदेश सहकार्य गरी उक्त कार्यक्रमको घोषणा गरेको हो । नेपालका धेरै गाउँहरू अझै पनि पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन सकिने देखेर भिडियो निर्माताहरूले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदि विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने ’वि विल राइज फाउण्डेसनले’ जानकारी गराएको छ । अहिले पर्यटकहरूको अत्यधिक आवागमन हुने क्षेत्रलाई फरक ढंगले प्रस्तुत गर्न सकेमा त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिने तर भिडियो भने नेपालकै हुनुपर्ने प्रावधान रहेको छ । पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले यस भिडियो प्रतियोगिताले लुकेको नेपाल देखाउने विश्वास व्यक्त गर्नुभयो । उहाले सरकारको तर्फबाट हुनुपर्ने काम निजि क्षेत्रबाट भएकोले धेरै सराहनीय रहेको बताउनुभयो ।

संस्थापक निर्देशक निर्मल श्रेष्ठले नेपाल भौगोलिक,प्राकृतिक विविधता र विविध संस्कृति भएको देश हुनाले यस कार्यक्रमले नेपाललाई चिनाउन अझ सहयोग गर्ने बताउनुभयो ।