‘नेपालका आधाभन्दा बढी नागरिकसँग साबुनपानीले हात धुने सुविधा र अभ्यास छैन’

0
26

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन साबुनपानीले राम्रोसँग हात धुन सल्लाह दिँदै आएको छ । तर, नेपालका आधाभन्दा बढी नागरिकमा साबुनपानीले हात धुने सुविधा नभएको संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) ले जनाएको छ ।

युनिसेफले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको सहरी क्षेत्रमा समेत धेरै मानिसमा साबुनपानीले हात धुने सुविधा छैन । सहरी क्षेत्रका ३३ प्रतिशत मानिसमा साबुनपानीले हात धुने अभ्यास नभएको युनिसेफले जनाएको छ ।

सर्वसाधारणका घरमा मात्रै होइन, स्वास्थ्य संस्थामा पनि साबुनपानी उपलब्ध छैन । नेपालका ५४ प्रतिशत स्वास्थ्य संस्थाका बिरामी जाँच्ने स्थानमा हात धुने सुविधा नभएको युनिसेफको तथ्यांक छ ।

स्वास्थ्य संस्थाका बहिरंग विभागमा कीटाणुनाशक तत्व ५९ प्रतिशत मात्र उपलब्ध छ । त्यस्तै, सुत्केरी गराउने कक्षहरूमा पनि ६९ प्रतिशत मात्र रहेको युनिसेफले जनाएको छ ।

युनिसेफका अनुसार विश्वका तीन अर्ब मानिसका घरमा साबुनपानीले हात धुने सुविधा छैन । संसारभर हरेक पाँचमध्ये दुईजनामा हात धुने सुविधा नभएको उसको तथ्यांक छ । अफ्रिकाको सहारा उपमहाद्वीपको सहरी क्षेत्रमा बस्ने ६३ प्रतिशत जनसंख्या अर्थात् २५ करोड ८० लाखमा हात धुने आधारभूत सुविधा छैन । दक्षिण अफ्रिकामा ४७ प्रतिशत जनसंख्या अर्थात् एक करोड ८० लाख मानिसको घरमा हात धुने सुविधा उपलब्ध छैन ।

विश्वमा १६ प्रतिशत अर्थात् ६ मध्ये एक स्वास्थ्य संस्थाको बिरामी जाँच्ने स्थानमा योग्य शौचालय वा हात धुने व्यवस्था छैन । संसारका धेरै ठाउँका बालबालिका, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका अन्य सदस्यलाई घर, स्वास्थ्य संस्था, विद्यालय र अन्यत्र हात धुने आधारभूत सुविधा उपलब्ध नभएको युनिसेफले जनाएको छ ।

विश्वका ४५ प्रतिशत विद्यालयमा साबुनपानीले हात धुने सुविधा नभएका कारण विद्यालय जाने उमेरका ९० करोड बालबालिका प्रभावित भएका छन् । संसारभरका एकतिहाइ विद्यालय तथा अति कम विकसित राष्ट्रका आधाजसो विद्यालयमा बालबालिकालाई हात हुने ठाउँ नै उपलब्ध छैन ।

खाद्यान्नको माग ३५ प्रतिशत बढ्यो, मूल्य आकासियो

बजारमा खाद्यान्नको माग बढेसँगै मूल्य आकासिएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार चिनी प्रतिकिलो पाँच रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै, नयाँ चामल बोरामा ५० देखि सय रुपैयाँसम्म बढेको छ ।

बोराको एक हजार पाँच सय ५० देखि एक हजार ६ सय ५० रुपैयाँसम्म पर्ने जिरा–मसिनो चामलको मूल्य एक हजार सात सय ५० रुपैयाँ पुगेको छ । अधिकतम एक सय ५० रुपैयाँ प्रतिकिलो रहेको मासको दालको मूल्य एक सय ७० रुपैयाँ पुगेको छ ।

नेपाली मुसुरोको दालमा पाँच रुपैयाँ बढेर एक सय ३० र्पुयाइएको छ । त्यस्तै, मुगको छाँटा एक सय ५० रुपैयाँ प्रतिकिलोबाट बढेर एक सय ६० रुपैयाँ पुगेको छ । अध्यक्ष श्रेष्ठका अनुसार बजारमा खाद्यान्नको माग ३५ प्रतिशतले बढेको छ ।

पेट्रोलियमको आपूर्ति बढ्यो तैपनि पम्पमा लाइन घटेन

काठमाडौं उपत्यकामा सामान्य अवस्थामा पेट्रोल पाँच सय किलोलिटर र डिजेल सात सय किलोलिटर खपत हुने गर्छ । तर, पछिल्लो एक सातायता निगमले निरन्तर मागभन्दा बढी पेट्रोल र डिजेल बजारमा पठाएको दाबी गरेको छ ।

निगमको थानकोट डिपो प्रमुख बिनिमणि उपाध्यायका अनुसार मंगलबार पेट्रोल एक हजार एक सय ६९ किलोलिटर र डिजेल एक हजार चार सय ११ किलोलिटर वितरण भएको छ । तर, सामान्य अवस्थाको मागभन्दा दोब्बर आपूर्ति हुँदा पनि पम्पहरूमा लाइन भने घटेको छैन । उपभोक्ताले तेल जगेडा राख्न अतिरिक्त भाँडोमा भरेर पनि लैजान थालेका छन् । नयाँ पत्रिका दैनिकबाट

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice