चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ – चिया किसान

0
15

इलाम, असार २१ गते । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उहाँलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ ।

“खासमा दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ”, कटुवाल भन्नुहुन्छ, “घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दैछ । कहिलेचाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौँ ।”

बन्दाबन्दीको समयमा पनि हरियो चियापत्तीको सोचेजस्तो मूल्य नपाएपछि डम्बर यतिबेला के गर्ने र कसो गर्ने अवस्थामा पुग्नुभएको छ । स्थानीय सूर्योदय नगरपालिका (सूनपा) ले पनि चियाको भाउ प्रतिकिलो रु ४० भन्दा कम नकिन्नु भनेर कार्ययोजना नै बनाएको छ । तर पनि उद्योगीहरूले त्यही मूल्य पनि नदिने ‘अड्डी’ कसेपछि डम्बरको मन पिरलिएको हो । “स्थानीय सरकारले पनि कानून मात्र बनाएको छ । कार्यान्वयन गराउने पक्षमा छैन । उद्योगीहरू पनि आफ्नै भलो मात्र चाहन्छन्”, डम्बर भन्नुहुन्छ, “हाम्रो पक्षमा कसले पो बोलिदिन्छ र !”

डम्बर मात्र होइन, सूनपाकै अर्का किसान ज्ञानु राईलाई पनि यस्तै लाग्न थालेको छ । चियाको उचित मूल्य पाउन छाडेपछि एकातिर बन्दाबन्दीमा घरमा आर्थिक सङ्कट आइलागेको छ भने अर्कातिर बालीको मूल्य नै राम्रो नपाएपछि उकुसमुकस भएको छ । ज्ञानुलाई आफ्नो चित्त दुखाइ स्थानीय सरकार र उद्योगीसँग मात्र नभई चिया किसानसँग पनि हो । “आखिर हामी पनि एकजुट हुन नसकेकाले यो समस्या आएको हो”, ज्ञानु भन्नुहुन्छ, “हाम्रा लागि लड्ने त हामी नै त रहेछौँ, हामीले त २० वर्षअघि जति मूल्यमा चियापत्ती बेच्थ्यौँ अहिले पनि त्यही मूल्यमा दिनुपरेको छ ।”

हरियो चियापत्तीको उचित मूल्य नपाएपछि यतिबेला चिया किसान सडकमा छन् । बन्दाबन्दीको समयमा अन्तर्राष्ट्रिय बजारमा हरियो चियापत्ती नबिकेको भन्दै उद्योगीले मूल्य घटाएपछि किसान सडकमा आउन बाध्य भएका हुन् । किसानले आन्दोलनस्वरुप नगरपालिकाभरिका किसान मिलेर सङ्घर्ष गर्ने योजना पनि बनाएका छन् तर एक हुन नसक्दा समस्या आएको छ । “हामी विस्तारै एक हुने क्रममा छौँ । तीन÷चार वडाका किसान त एक भइसक्यौँ”, अर्का चिया किसान डम्बर प्रधान भन्नुहुन्छ, “हामी चिया किसानले चियामा सुधार ल्याउनुपर्ने छ भने हामी ल्याउन तयार छाँै तर उद्योगीले उचित मूल्यचाहिँ दिउन् ।” प्रधान भने नगरले तोकेको मापदण्डानुसार उद्योगीले चिया नलिए चिया नै नदिने जिकिर गर्नुहुन्छ । किसानको उत्पादनको मूल्य कम पारेर उद्योगीले नाफा मात्र कमाएको दाबी गर्दै प्रधान भन्नुहुन्छ, “हो बन्दाबन्दी छ, चियाको मूल्य उद्यागीले धेरै दिन सक्दैनन् तर नगरपालिकाको मापदण्डमा त टेक्नैपर्छ । नगरको मापदण्डभन्दा धेरैमाथिको मूल्यसमेत हामीले विगतमा पाएका हौँ ।”

‘उद्योग बन्द भए पनि चिया दिँदैनौँ’

सूनपाले तोकेको मापदण्डमा टेकेर चिया उद्योगले हरियो चियापत्तीको मूल्य नदिए उद्योगलाई कुनै हालतमा चिया नदिनेसम्म किसानले बताएका छन् । विषम परिस्थितिको फाइदा उठाउँदै उद्योगले कम भाउ तोके चिया घरमै राख्नेसमेत किसानले बताएका छन् । “हाम्रो पनि श्रमको मूल्य हुनुप¥यो”, चिया किसान साधना फागो भन्नुहुन्छ, “हाम्रो वस्तुको उचित मूल्य नै दिइँदैन भने हामी किन झुक्ने ?”

फागोका अनुसार धेरैजसो चिया किसानलाई उद्योगले चियापत्ती ल्याउन अनुरोध गरेको र पछि निर्धारित मूल्यसमेत दिएका छन् । “हामीले पनि त कर तिर्नुपर्छ, घर चलाउनु पर्छ”, फागो भन्नुहुन्छ, “चिया किसानलाई सहुलियत ऋण र तालिम दिनुको सट्टा हाम्रै उत्पादन पनि सस्तो खोज्ने ?”

आर्थिक अभावपछि शिथिल बन्दै आन्दोलन

आन्दोलन चर्काउनकै लागि भनेर पछिल्लो समय नगरभरका किसानको ‘सङ्घर्ष समिति’ समेत कोसिसमा लागेको छ । किसानहरूले नगरका तीन वडामा ‘समिति’ नै गठनसमेत गरेका छन् तर किसानसमेत एकजुट हुन नसक्दा समस्या आएको उनीहरू नै बताउँछन् ।

“किसानलाई चिया नबिकेपछि घर चलाउन गाह्रो भएको छ”, चिया किसान फागो भन्नुहुन्छ, “त्यसपछि त्यही चिया उद्योगीलाई दिएर पैसा ल्याउनुपर्ने दयनीय अवस्था आइलागेकाले एकजुट हुनसकेका छैनौँ ।” उहाँका अनुसार अहिले घर खर्च चलाउनकै लागि पनि तोकिएको मूल्यभन्दा कम मूल्यमा नै चिया बेच्नुपरेको छ । किसानले नगरको वडा नं ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । फागोका अनुसार अन्य वडामा पनि समिति गठन गर्ने प्रयत्न भइरहेको छ ।

के छ नगरको कार्यविधिमा ?

सूनपाले दुई वर्षअघि मात्र किसानको हरियो चियापत्तीको मूल्य कम्तीमा प्रतिकिलो रु ४० मा उद्योगले किन्नुपर्ने कार्यविधि गरेको थियो । त्यसबेला आफ्नो चियाको मूल्य कम राखेको भन्दै किसानले आन्दोलनसमेत गरेका थिए तर अहिले त्यही नगरले तोकेको मूल्यसमेत उद्योगले नदिँदा किसान अझै समस्यामा परेका हुन् । नगरको कार्यविधि ‘सरकारको कानून’ भएको हुनाले जसरी पनि उद्योगले मान्नुपर्ने बताउनुहुन्छ सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्मा ।

“सधैँ किसान मार्ने काम मात्र भएको छ । यदि उद्योगले नगरपालिकाको मापदण्डविपरीत चिया लिए आवश्यक कारवाही गर्नेछौँ”, शर्माले भन्नुभयो, “जहिले पनि वस्तुको मूल्य कम लागतमा निर्धारण हुन्छ । विषम परिस्थिति आयो भन्दैमा कानूनविपरीत वस्तुको मूल्य कहीँ पनि लिन पाइँदैन ।” शर्माले विगतमा उद्योगले किसानको चिया ‘कौडी’कै मूल्यमा लिए पनि अब भने त्यस्तो गर्न नसक्ने बताउनुभयो ।

आन्दोलनकै बेला नगरमा चिया शाखा गठन

चियाको गुनासो सुनुवाइ गर्न पहल गर्ने गरी सूनपाले नगरमा चिया शाखा गठन गरेको छ । आर्थिक विकास समितिका संयोजक शर्माको संयोजकत्वमा नौ सदस्यीय समिति नगरले गठन गरेको हो । समितिमा दुई–दुई किसान र उद्योगका प्रतिनिधि, एक चिया तथा कफी विकास बोर्डका प्रतिनिधि, एक नगर सल्लाहकार र समितिको सदस्यसचिवमा उद्योग शाखाको सचिव रहने गरी शाखा स्थापना भएको हो ।

के भन्छन् त उद्योगी ?

यता उद्योगीले भने तयारी चिया नबिकेकाले किसानलाई चियाको उचित मूल्य दिन नसकिएको बताएका छन् । उनीहरूले नेपालमा बजार नभएको र तेस्रो मुलुकमा लगेर बेच्न समस्या भएकाले कम मूल्य दिएको स्वीकार गरेका छन् । “तयारी चिया बिक्री नभएकाले किसानलाई बढी मूल्य दिन उद्योगलाई समस्या छ”, चिया उद्योगी गोपाल कट्टेलले भन्नुभयो, “अहिले उद्योगहरूले तयारी चिया बेच्न नपाएकै कारण किसानको हरियोपत्तीको मूल्य तिर्न सकेका छैनन् ।”

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice