अध्यक्ष ओलीद्धारा पार्टी एकताको रक्षा गर्ने र प्रतिवद्धतासहितको राजनीतिक प्रस्ताव पेश

4

काठमाडौं, मंसिर १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको रक्षा गर्ने आव्हान र प्रतिवद्धतासहित बैठकमा राजनीतिक प्रस्ताव पेश गर्नुभएपछि आजको बैठक सकिएको हो ।

अर्को बैठक १६ गते मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय पनि बैठकले गरेको छ । आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार बैठकमा अध्यक्ष ओलीले प्रतिवद्धता गर्नुभएअनुसार अध्यक्षको राजनीतिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रतिवेदनमा उहाँले पार्टी एकताको संकल्प, पार्टीलाई थप मजबुत बनाउने प्रतिवद्धतासहितको आव्हान नेताहरुलाई गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित प्रस्तावलाई सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ । सो प्रतिवेदन अध्ययन गर्न तीन दिनको समय दिइएको छ । १६ गते बस्ने बैठकमा त्यसमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

पार्टीमा देखिएको अहिलेको संकटलाई छलफलकै माध्यमबाट समाधान गर्ने प्रतिवद्धता नेताहरुले गर्नुभएको छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम तथा अन्य सदस्यले संक्षेपमा धारणा राख्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो । अर्को बैठकमा एजेण्डामाथि छलफल व्यवस्थित रुपमा शुरु हुने र उचित निस्कर्ष निस्कने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

पार्टीको समस्या र त्यसको समाधानको विषयमा छलफल हुनु स्वभाविक रहेको र त्यसबाट नै पार्टीलाई एकताको गति दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्टी कमिटीमा हुने वहसलाई स्वभाविक र सकारात्मक रुपमा लिइनुपर्छ उहाँले भन्नुभयो । बैठक करिब दुई घण्टा बसेको थियो ।

 

siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra