उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाए

वासिङ्टन, मंसिर १६ गते रासस – उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नु भएको छ । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताउनु भएको हो ।
ह्यारी काजियानियासले लेख्नु भएको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरु र उहाँका परिवारका सदस्यहरुले एक दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताउनु भएको छ ।
योनहापका अनुसार काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक हुनुहुन्छ ।
लेखमा उहाँले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गर्नु भएको छ । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उहाँका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन । चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन ।
उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाई गरिएको छ ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित