तेह्र वर्षीया बालिका बलात्कार आरोपितलाई १८ वर्ष कैद सजाय

सप्तरी, फागुन १४ गते रासस – तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले आज आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।

पीडितका अनुसार कामबाट पैदल घर फर्किरहेका बेला सामान्य चिनजानका आरोपितले नास्ता र नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई ०७६ भदौ १२ गते राति राजविराज नगरपालिका–४ स्थित बैष्णव काली मन्दिर नजिकको कल्टु दासको पोखरी किनारमा लगेर बलात्कार गरे । आरोपितले भदौ १२ गते राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि अर्धचेत अवस्थामा बालिकालाई घर अगाडि फेला पारेको भन्दै पीडितकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ भदौ १३ गते उजुरी दिनुभएको थियो ।

विक्षिप्तावस्थामा रहेकी बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मनोविमर्श एवं स्वास्थ्य उपचार भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई ०७६ भदौ १३ गते दिउँसो पक्राउ गरेपछि पीडितले पहिचान गरेकी थिइन् । जिल्ला अदालतको ०७६ असोज ५ गतेको आदेशानुसार आरोपित राजविराज कारागारमा थुनामा छन् ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित