सर्वोच्चको फैसलालाई सरकारले कार्यान्वयन गरिसक्योः मन्त्री ज्ञवाली

काठमाडौं, चैत ६ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई सरकारले कार्यान्वयनमा लगिसकेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभा बैठकमा शुक्रबार सरकारको तर्फबाट धारणा राख्नुहुँदै मन्त्री ज्ञवालीले सो जानकारी गराउनुभयो ।

सर्वोच्चको फैसलाअनुसार अब संसद बैठकबाटै राजनीतिक स्थायित्व खोज्नुपर्ने बाध्यात्मक अवस्था आएको उहाँले बताउनुभयो । “संविधानले सदन सञ्चालनसँग सम्बन्धित, अध्यादेशसँग सम्बन्धित प्रष्ट व्यवस्था गरेको छ उहाँले भन्नुभयो, “संसदको पहिलो बैठकमा अध्यादेश प्रस्ताव ल्याउन पाइने व्यवस्था छ, तर त्यो प्रस्तावमा हामीले सहमति जुटाउन सकेनौं, चिन्ताको विषय हो ।”

संक्रमणकालिन न्यायलाई टुङ्गोमा पु-याउन आयोगको समयावधि बढाउने, एसिड आक्रमणका घटनाको सजाय सम्बन्धी व्यवस्थाको प्रस्ताव समेत संसद बैठकमा रोक्ने काम हुनु उचित नभएको उहाँले बताउनुभयो । “सर्वोच्च अदालतको फैसलाले सरकार दुईवटै मुद्दा हारेको छ, तर हामीले कुनै आक्षेप लगाएका छैनौं” मन्त्री ज्ञवालीले भन्नुभयो, “सर्वोच्च अदालत र निर्वाचन आयोगले सहमतिको ढोका बन्द गरेको छैन, हामी अझ मिलेर अघि बढ्नसक्ने ठाउँ छ ।”

संविधानप्रति सबै दलको साझा धारणा छ तर पनि कार्यान्वयनमा फरक बुझाई भइरहेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले विधिको शासनप्रति सबै प्रतिवद्ध हुनुपर्छ भन्नुभयो । संविधान जारी भइसकेपछि सिके राउत समूहलाई र पछिल्लो समय विप्लब चन्द नेतृत्वको नेकपा माओवादीलाई शान्तिपूर्ण मूलप्रवाहमा ल्याउने काम भएको उहाँले बताउनुभयो । कानुनको दायराभित्र आपसमा मतभेद हुनु लोकतन्त्रमा छुट छ तर संविधानको उल्लंघन गर्ने छुट कसैलाई छैन उहाँले भन्नुभयो ।

मुलुक कोरोनाले ग्रस्त भएपनि सरकारले कुशलतापूर्वक सामना गरेको चर्चा गर्नुहुँदै मन्त्री ज्ञवालीले कोभिड १९ को मामिलामा नेपालले नयाँ दृष्टान्त उपलब्ध गरेको बताउनुभयो । ६० देशमध्ये नेपाल पनि एउटा हो कोभिड १९ खोप समयमै शुरुगरेको उहाँले चर्चा गर्नुभयो । अर्को चरणको खोप चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो । छिमेकी मुलुक भारत र चीनले खोप उपलब्ध गराएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित